FAQs Complain Problems

आर्थिक वर्ष २०७३/७४ को प्रथम चौमासिक सार्वजनिक सुनवाई कार्यक्रमको प्रतिवेदन

       ललितपुर उप–महानगरपालिकाले आ.व.०७३/०७४ को प्रथम चौमासिक सार्वजनिक सुनुवाईको कार्यक्रम सञ्चालन स्थानीय निकाय सार्वजनिक सुनुवाई कार्यविधि २०६७ ले ब्यवस्था गरे अनुसार २०७३ साल कार्तिक ३० गते मंगलबारका दिन ललितपृर उप–महानगरपालिकाको मच्छिन्द्र वहाल ,वडा नं.१९ मा उप–महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत श्री भरत मणी पाण्डेज्यूको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।

       सो कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधि श्री राजेश महर्जन,न.क.पा.एमालेका प्रतिनिधि श्री श्रीगोपाल महर्जन,ने.क.पा.माओवादी केन्द्रका प्रतिनिधि श्री बाबुराजा बज्राचार्य, रा.प्र.पा.नेपालका प्रतिनिधि श्री नरेश कुमार श्रेष्ठ,रा.प्र.पा का प्रतिनिधि श्री केशव खड्का,संघीय समाजवादी फोरम नेपालका प्रतिनिधि श्री चक्रमान महर्जन,ने.क.पा.मालेका प्रतिनिधि श्री राम प्रसाद भट्ट र महिला नगर समन्वय समितिका उपाध्यक्ष श्री कौशल्या थापाज्यूको आतिथ्यता थियो भने उक्त कार्यक्रममा नगरपालिका भित्रका उपभोक्ता समिति,टोल सुधार समिति/टोल विकास संस्था,क्लव,गैरसरकारी संस्थाका प्रतिनिधि,सामाजिक अगुवा,वडा नागरिक मञ्चका प्रतिनिधि,नागरिक सचेतना केन्द्रका प्रतिनिधि,महिला समूहका प्रतिनिधिहरु गरीे २५१ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा उप–महानगरपालिकाको सेवा सुविधाका बारेमा जिज्ञासा एवं पृष्ठपोषणका लागि ११ जना सहभागीले कार्यक्रममा उप–महानगरपालिकाको फोहरमैला व्यवस्थापन, मछिन्द्र बहाल मन्दिर परिसरको ढल व्यवस्थापन, बाटो बिस्तार, मठ मन्दिर, पोखरी, तलाउ, सांस्कृतिक धरोहरका महत्वपुर्ण स्थलहरु, महिला स्वयं सेविकाको सम्मान, भूकम्पबाट क्षतीग्रस्त शहरको पुर्ननिर्माण, सार्वजनिक जग्गा अतिक्रमण लगायत विभिन्न जिज्ञासाहरु उठेका थिए । त्यसैगरि स्थानीय स्तरका सेवाग्राहीहरुको सहभागितात्मक पद्धति अनुसार गरिएको सर्वेक्षणको नतिजाको आधारमा प्राप्त सुझाव तथा गुनासोको कार्यान्वयन गर्ने प्रतिवद्धता सम्बन्धित महाशाखा,शाखा तथा कार्यकारी अधिकृत श्री भरत मणी पाण्डेज्युबाट भएको थियो । उक्त कार्यक्रम नागरिक समाज संस्था बालबालिका तथा महिला बचाउ अभियान नेपाल (CAWS Nepal) को सहजिकरणमा सम्पन्न भएको थियो ।

     सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भएका अतिथि लगायत सरोकारवालाहरुलाई ललितपुर उप–महानगरपालिकाको सार्वजनिक निर्माण महाशाखाका प्रमुख श्री प्रविण श्रेष्ठले स्वागत मन्तव्य गर्नुभएको थियो । कार्यक्रमका सभापति एवं ललितपुर उप–महानगरपालिकाको पैमुख तथा कार्यकारी अधिकृत श्री भरत मणी पाण्डेज्यूले सार्वजनिक सुनुवाई कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । सो कार्यक्रममा ललितपुर उप–महानगरपालिकाको महाशाखा र शाखा प्रमुखज्यूहरुले आ.व.०७३/०७४ को प्रथम चौमासिक भित्र गरेका सार्वजनिक सेवा प्रवाहको बारेमा जानकारी गराउनुभएको थियो । सेवा प्रवाहको प्रस्तुतीकरण पछि उपस्थित सरोकावालाहरुवाट गुनासो तथा प्रश्न लिई उप–महानगरपालिका प्रमुख एवं कार्यकारी अधिकृत श्री भरत मणी पाण्डेज्यूले जिज्ञासा तथा प्रश्नहरुको सम्वोधन सहित कार्यक्रम समापन गर्नु भएको थियो ।